अप्सन नहिँ हे
अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । नेपालमा भाग्यमा विश्वास गर्ने जस्तै भाग्यमानीको साख्या पनि कम छैन । मेरो प्रभातिय नजर पर्नेहरु पनि त्यस्तै होलान् । हुन सक्छ म नै भाग्यमानी हुँ विहान विहान……………. हा हा हा । अगणित अनुहार माथि झुलुक्क पर्ने मेरो नजर । मेरो नगरको दैनिकी अनि मेरो दैनिकीको सुरुवात । अचम्म छ है । विहान हतार हतार कक्षा पुग्ने क्रममा फालिएको नजरमा पर्ने अनि परिने दैनिकी । सार्वजनिक यातायातले पनि नजर दैनिकीलाई प्रोमोट गरेको छ काठमाडौंमा ।
विहानको छ बजेको समय । बेडबाट बाथरुम अनि किचनको यात्रा दैनिकी पछि मेरा आँखाले काठमाडौंको सडक देख्छ । मैतिदेवी चोक अनि चोकको चक्का चौंध । पहिलो नजरमा पर्ने कुरा । अनि मिनि अनि माइक्रो हुँदै गएका युवतीका स्कर्ट सागै ग्ल्यामरको रंगमा घोलीएको कलेज युनिर्फममा हिँडेका प्लस टु १६ वर्षे । उनीहरुले चाहे जसरी नै नजर पर्छ मेरो चश्माबाहिर । तर उनीहरुले चाहेको अनुपातको हेराई र भाव चाहिँ नपरेको हुनुपर्छ । ६५५ को क्लास भेट्ने हतारोले आँखाहरु एक्काका घोडा जस्तै हुन्छन् सिधा अगाडी नो दायाँ बायाँ । सृष्टिको नियम भने तोड्दैनन आँखा ।
काठमाडौंको यात्रा दैनिकीमा आँखालाई वशमा राख्नु निक्कै गारो कुरा हो । हाम्रा सार्वजनिक यातायातको साधनको बनावट नै त्यस्तो छ अरुमा पर्ने नजरलाई नियन्त्रण गर्नै सकिन्न । साना ग्याँस माइक्रो खाली नजर लगाउन बाध्य गराउँछन् । सिटको बनौट नै आमने सामने पर्ने गरेर बनाइएको छ । अनि किन नपरुन आँखा । कोचाकोचको माइक्रो यात्राले अरु विकल्प नै दिँदैन आँखालाई । सिधा अगाडी बस्नेको खुट्टा देखी आँखा सम्म हरेक यात्रुले डेप्थ अफ फिल्ड अनुभव गर्न सक्छ । इन्डोनेसियन निला माइक्रो सिसा भएको झ्यालमा आड लगाउन लगाउँछन् अनि आँखा पर्छ सिधा अगाडीको यात्रुमा । चाहे पनि नचाहे पनि । श्वास गन्हाएका देखी अनुहारै नपरेका सम्मलाई देख्नु पर्छ विहान विहान ।
कुन युवतीको जुँगाको रेखी बसेको छ अनि कसले चाहिँ आँखी भौं उखेल्न अल्छि गरी सब पत्तो पाउँछन् माइक्रो यात्रु। कसको अनुहारमा पिम्पल छ र कसको दाँतमा धब्बा छ सायद धेरैले हेर्न चाहे पनि नचाहे पनि देख्छन् । अनुभव छ धेरै यात्रु सँग । तपाइँ सँग अनि म सँग पनि । म पनि त्यही यात्रु मध्येको एक त हुँ । मेरो आँखाले पनि धेरै हेर्यो होला अनि मलाई पनि धेरै आँखाले हेरे होलान् । मेरो अनुहार देखी खुट्टा सम्म नजाने कति मेघा पिक्सलको मानव आँखाले तस्विर लिए होलान मानिसहरुले । माइक्रोको ठेलाम्मे भिडमा सिटमा बसेपछि अचानक विचार आयो साँच्चि माइक्रोमा मानिसका आँखा के गर्दा हुन् अनि त्यसले कस्तो सोच ल्याउला । माइक्रो स्कर्टमा प्लस टु हिँडेकी युवती देखेर साथै कक्षामा जानका लागि माइक्रो चढेको केटो के सोच्दो हो । म त साधै नारायणटार जाने मानिस त्यता जाने अधिकांश पाका उमेरका अनि रिड रोड बाहिरको वातावरणका पाकाहरु के सोच्दा हुनन् अनि के हेर्दा होलान् । हा हा हा यस्तै सोच्दै थें माईक्रो यात्रामा।
अरुका चेहरामा पर्ने आँखालाई रोक्न विहान विहान केही समय दृश्य क्षमता जोगाउनु पनि नमिल्ने । एकाविहानै पनि गाडीमा निदाएछ सोच्लान् । अगाडी बस्ने मानिसको अनुहार हेर्दा हेर्दा वाक्क भइयो । फेरी मेरो रुटमा अरु मोडलका गाडी पनि छैनन् । जति जे गरे पनि विहानै नजर चेहरामा टिकाउनै पर्ने वाध्यता छ । भोली फेरी कुन चेहरा उपस्थित हुने हो मेरो नजरमा पर्न । मलाई त असजिलो लाग्छ कुनै युवती मेरो अपोजिटको सिटमा परिन भने उनलाई झन कस्तो लाग्दो हो ? कतिलाई चाहिँ म राम्री देखिएकी छु भन्ने घमण्ड पनि लाग्दो हो नत्र यो केटो मलाई किन हेरिरहन्थ्यो सोच्दा हुन् । अनि कति चाहिँ भित्र भित्र कस्तो मोरो रहेछ कति एकोनाश हेरेको भनेर असुरक्षित पनि ठान्दा हुन् । हा हा हा यात्रा र आँखाका नियमित संजोग हुन यि । मलाई कतिपय अवस्थामा त लाग्छ अगाडी बस्नेलाई भनुँ तेरे चेहरे से नजर हटाना चाहता हुँ, मजबुरी हे मेरे पास अप्सन नहिँ हे ।



[...] [...]
आफ्नो टिप्पणी दिनुहोस्