भत्काईंदै गएको नेपाल र सम्झना राजाको
पुष १४, एक दशक अगाडी यही दिन कत्ति रौनकको हुन्थ्यो । राजाको जन्मदिन भव्य समारोह टुंडिखेलमा अनि सार्वजनिक बिदा । पत्रकारहरुका लागि पनि मख्खैको दिन नि । कति काला साप्ताहिकले वर्ष भरि देख्न नपाएको विज्ञापनको मुख देख्थे । सरकारी विज्ञापनको रकम पाउने आशमा सांझ सांहिली माहिलीकोमा दुई ट्वाक लगाउन पुग्थे पत्रकार भन्दा मख्ख पर्नेहरु । अब बागमतीमा ढल र राजनीतिमा जल सँगै राजाको जन्मदिनको रौनक सकियो ।
अब राजाको प्रासांगिकता सकिएको छ नेपालमा । न राजा भन्ने पद नै छ । केवल शालिक छन् अनि इतिहास । त्यो पनि कम्युनिष्ट भनाउनेहरु मेट्नमा लागि परेका छन् । अहिलेको अवस्था भन्ने हो भने जनताको अधिकांश पपुलर मतले राजसंस्थाको अन्त्य गरिसकेको छ । संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको पनि वर्ष दिन नाघिसक्यो । भलै गणतन्त्रमा लग्ने निर्णयले प्रजातान्त्रिक प्रक्रिया पुरा नगरेको होस् तर देशमा राजतन्त्रको औचित्यलाई समाप्त चाहिं गरिएको छ । हुन छ राजनीतिक दलले जनताको मत बेगर नै उधारो गणतन्त्र घोषणा त गरेकै थिए । जनमतको निर्णयलाई स्वीकार्दै विश्वका हिन्दू सम्राट नेपालका अन्तिम राजा ज्ञानेन्द्रले गद्दि र राजदण्ड सरकारलाई जिम्मा लगाएर हिंडे ।
नेपालको राजसंस्थाको उदय र पतन दुवै विश्वका अन्यको भन्दा फरक थियो । राजा विरेन्द्रको वंश नाश हुने गरि २०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्ड पछि नेपालको राजतन्त्र इतिहासमा पुग्ने गरि विवादित बन्यो । राजतन्त्रका पछिल्ला पुस्ताले यसको गरिमा र लोकप्रियता कायम गर्न सकेनन् । देशको राजनीति पनि त्यतै लक्षित भयो अनि विदेशी शक्तिका अगाडी राजाका राज टिकेनन् । राजतन्त्र गए पनि राजाका करनीहरु जनताका अन्तस्करणमा रहिरका छन् । त्यसैले त आज पनि जिवित छन् राजा । आज केहीले राजा विरेन्द्रको सम्झना गरे । धेरैले बिर्सिए । कतिले चाहिं बिर्सेको भान पारे । नेपालमा राम्रो गर्नेको भलो हुँदैन भन्थे अनि नेपाली जनता भेंडो हो भन्थे । छिटो बिर्सन्छन् नेपालीहरु ।
त्यसरी नै छिटो बिर्सनेमा परे राजा विरेन्द्र । उनी लोकपि्रय राजा थिए । अनि राष्ट्रभक्त पनि । उनैका पालामा नेपालले शान्ति क्षेत्रको प्रस्ताव राख्यो । भारतले आफू सँग झुकाउन निक्कै कसरत गर्यो उनलाई । सार्वभौमसत्ता सँग राजसत्ताको स्थायित्वलाई साट्न खोज्यो । तर उनले जनतालाई प्रजातन्त्र दिने तर विदेशीलाई नेपाल नदिने निर्णय गरे । प्रजातन्त्रका नाममा चलेको राजनीतिक अराजकता अन्त्यको सोच राख्ने विरेन्द्रले भ्रष्ट र पराधिन मानसिकताका राजनीतिक दललाई सचेत गराउने प्रयास पनि गरे । नेपाललाई नै विदेशी चक्रमा हुल्न सक्ने संभावना भएको भारतीय नागरिकलाई नेपाली नागरिकता थमाउने विधेयक रोके । उनका सकारात्मक पक्षको वयान लगाउँदा राजावादी ठान्छन् मानिस तर एउटा सच्चामनका राजा थिए विरेन्द्र । सायद त्यसैले होला उनको निधनमा राजतन्त्र अन्त्यको नारा बोकेको माओवादीले पनि उनको प्रसंशामा विज्ञप्ती खर्चेको ।
उनी राजा हुँदा राजतन्त्रलाई देशको मियो भनिन्थ्यो । त्यसको अन्त्यको कल्पना पनि हुन सक्दैनथ्यो । अहिले संघिय ढाँचामा मुलुकलाई लैजाने भनिएको छ । अनि जातिय विभाजनका रेखा कोरिन थालेको छ । लाखौं भारतीयलाई नेपाली नागरिकता थमाउने नागरिकता ऐनलाई दलहरुले सभाध्यक्षको सही ठोकेर पचासको दरमा बेचिसकेका छन् । यो समयमा राजा विरेन्द्रको सम्झना आफैंमा नमिल्दो प्रसंग हुन थालेको छ । देश भत्किरहेको छ । अब शान्ति क्षेत्र होइन क्रान्ति अनि युद्ध क्षेत्र बन्न लागेको छ मुलुक । जसले जे गरे पनि हुने भएको छ । अफगानिस्तान या इराकी भविश्य देखिन थालेको छ जातिय राज्य र झगडाको रंगशालामा । देश भित्रै प्रदेश अनि राष्ट्रगान र झण्डा तोकिन थालेका छन् । अब यस्तो समयमा समयको कालखण्डमा एकताको मियो बनेका शान्तिकामी राजाको सम्झना कसरी हुन सक्छ ? हामी पौराणिक राजा बेन या पृथुको चरित्र मध्ये कसलाई रोज्ने त्यो मोडमा छौं ।
यस्तो मोड जहाँ राजनीतिले हामीलाई घृणाको बाटो हिंडाएको छ । देखाएको छ विखण्डन अनि भिन्नता । त्यो समयमा एकताको कुरा अप्रासांगिक अनि पुरानो हुन जान्छ । कुनै बेला राजाका सलामीमा सजिने टुंडिखेलमा अहिले गणतन्त्रको जातियता सजाइएको छ । बुर्जुवा प्रजातन्त्र भन्दै जागित कविला राज्यमा पस्न र फस्न लागेको बेलामा विरेन्द्रको सम्झना हुँदैन ।हुनै सक्दैन ।अब हामीले सम्झने त रणबहादुर जस्ता सन्की राजा हुन । या अफगानिस्तानका जस्ता कविला हुन । अब बिर्सौ राजा विरेन्द्रलाई किन सम्झने ? न नेपाल एक छ न शान्त । दुवै नभएको बेलामा यी दुवैको पक्षपातीलाई ।

December 29, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू