भूमिका फरक, फुटपाथ मिनिस्टर्स

नयाँ सडक, मोफसलको आँखाबाट हेर्दा सम्पन्नता र व्यावसायिकताले झपक्कै बोलेको ठाउँ। जन देखी धन घनत्व भएको नगर। सडकलाई चारैतिरबाट घेरेका घर अनि तीनै घरको उचाइ जस्तै जिन्दगी। त्यही सडकको किनारै किनार समानान्तर दुई फुटपाथ। धेरै सपनाले बास बस्ने अनि बामे सर्ने ठाउँ। सपना आउँछन् जान्छन्। कति आकाशिन्छन् कति पाताल भेट्छन्। फुटपाथमा बसेर सपनाका पुलिन्दा तयार गर्ने सडक बालबालिकाको कथा रमेश विकलको बुनाइमा फुटपाथ मिनिस्टर्स।
काठमाडौं सहरमा देखिएको सडक व्यथा गोरे, जगने र टीकीको। शक्ति र सम्पत्तिको समानता, असमानता बीचको ट्रयांगुलर लभ। आज पनि न्यूरोड बनेको नयाँ सडकको कथा विकलको आँखाले देखेको भन्दा फरक छैन। गोरेको ठाउँमा गोविन्द, जगनेको ठाउँमा जगतप्रसाद (जेपी) अनि टीकीको ठाउँमा टिना भए होलान्। तर फरक छैन अवस्था ट्रयांगुलर लभको अनि आर्थिक असमानता र सडक जीन्दगी।
क्रान्तिकारीता शब्द र भावमा धेरै देखिएका छन् रमेश विकलका। त्यही सडक, न्यूरोड देखी रामशाहपथ सम्म अनि नारायणहिटी देखी सिंहदरबार, शितलनिवास हुँदै लाजिम्पाट सम्म फैलिएको छ। आज पनि सडकमा तिनै प्रतिनिधी पात्र मागिरहेका छन्। कोही आफ्नालागी त कोही समाजका लागि। तर न गोरेको जस्तो भाव छ न त जगनेको जस्तो अभिनय। राजनीतिक रंगले रंगिएका छन् पात्र। अनि माग पनि उस्तै खाले। साहित्यमा क्रान्तिकारी चेतबोकेका विकलको कथामा समाजमा रहेको आर्थिक असमानतामा बालबालिकाको दारुण अवस्था छ। समय क्रमले त्यो सडकमा राजनीतिक अवस्था र परिपाटी दारुण बनेको छ। उनका फुटपाथका मिनिस्टरहरु मागेर खान्छन् अनि फुटपाथमा बस्छन्। अहिले काठमाडौंका विभिन्न सडक वन वे, टु वे अनि किड्स वे रफ्तारको जिन्दगीमा हामी समग्र नेपालको झल्को पाउँछौं माग्नेमा। मागेरै देश चलेको छ अनि चलाएका छन् हाम्रा मिनिस्टर्सले। टिकीका लागि गोरे र जगने झैं छ सत्ताका लागि खेल।
नयाँ सडकको थोरै किनारामा रहेको फुटपाथमा पनि संघ छ। पाकेटमार र माग्नेले आआफ्नो कित्ता छुट्ट्याएका छन्। अब त्यसको नेतृत्वका लागि मुलपात्रको खोजी भएको छ। को बन्ने हो मुल अनि कसले पाउने हो क्रेडिट त्यसका लागि गोरे र जगने लडाइँ चलेको छ। फुटपाथको मुल पात्रलाई विकलले त्यहाँको मिनिस्टरको रुपमा उभ्याए अहिले तिनै राजनीतिक रंगमा प्रमोशन भएर प्राइमिनिस्टरको लडाइमा उत्रेका छन। विश्व समाजको आर्थिक सामाजिक असमानताले मागेर गुजारा चलाउनुपर्ने अवस्था भएको देशको एककेटाकेटीको कथा। तितो मिठो सपना। सडकमा बालापन पोख्नेहरुको सपना सँगैका आकर्षण र प्रेमका कुरा।
सत्ता राजनीतिक विम्बमा पनि ठ्याक्कै मिल्ने अवस्थामा लाग्छ उही यौवनावस्थाका प्रणयभावका कुरा सरकार गठनमा भइरहेको छ। गोरे, जगने र टिकीका सम्बन्ध कता कता राजनीतिक दलका जस्ता। सायद गोरे माओवादी, जगने काँग्रेस अनि टिकी। एमाले हो। टिकी जता लागे पनि एउटा खाली हुने कुनै बेला जगने कुनै बेला गोरे। संविधानसभाको चुनावबाट बलियो भएर उठेको माओवादी जस्तो गोरेको फुटपाथमा इन्ट्री। गोरे सँग लहसिएकी टीकी जस्तो माओवादी सँग नजिक भएको एमालेको हालत। अन्तत जगने साग टिकी लागेपछि सडकमा एक्लो परेको गोरे जस्तो वर्तमानको सडकको माओवादी। कथाको फुटपाथ जस्तै राजनीति र सत्ताको पथमा देखिएका नेता र पात्रता उस्तै उस्तै ।
रमेश विकलले लेखेको कथा फुटपाथ मिनिस्टर्स पाठकको आँखा र एंगलबाट हेर्दा लाग्छ भूमिकामा पात्र फरक छन्। अहिले हरेक ठाउँमा छन् फुटपाथ मिनिस्टर्स।

February 7, 2010
|
Posted by Madan Mani
Categories:

Life of children there is really pathetic….nice comparison….