मायाको कुम्भे, भ्यालेन्टाइन्स डे !

घडीको सुईले एक फन्को मार्न बाँकी छ। सेकेण्ड सुईको टिक टिक सँगै मुटुको ढुकढुकीले चाल बदलेको छ। प्रेमको अनौठो मादकताले मनमस्तिष्क कता कता बरालिएको जस्तो। हलचल छ मनमा कहिले भोलि होला हुटहुटी प्रतिक्षाको। शनिबारको बिदा पनि पट्ट्यार लाग्दो छ पाश्चात्य प्रेम रंगमा रंगमगिएको नेपाली युवाकालागि। फगत प्रतिक्षा, भोली उदाउने सूर्यको जसले प्रेम किरण मुटु नै छिचोल्ने गरि फैल्याओस्। पश्चिमा शैलीमा प्रेम सागरको स्नेह जलले उनी र उ सँगको सम्बन्धबाट मनलाई शितल पार्ने हतारो छ।

रोमन सेन्ट भ्यालेन्टाइनको सम्झनामा आफ्नो प्रेमीसागको पललाई यादगार बनाउने तयारी पुरा भइसक्यो। उपहार र कार्डको लोकलाज पुरा गरिसकियो, मात्र हातमा थमाउन र ‘लभ यु डार्लिङ’ बोल्न बाँकी छ। मनमा रहेको मायाको गहिराईलाई गुलाबको रंगको गाढापनमा देखाउन तयार छन् प्रेम मार्गका हमसफर। फेसबुक र अरु अनलाइनका फोरम प्रेमका लवज स्टाटस बोकेर पुरा माहौल नै प्रेममय बनाइरहेका छन्। भ्यालेन्टाइन्स डेको प्रेममय माहौलमा धडकन तेज भएका युवाहरुका लागि अन्नपूर्ण फुर्सदमा मदनमणि अधिकारीको शब्दमा भ्यालेन्टाइन्स डे


मायाको कुम्भ, भ्यालेन्टाइन्स डे

नयाँसडक बाट ठमेल हुँदै दरबारमार्ग सम्मको यात्रामा सडकको दायाँ बायाँका पसलको सजावटले देखाउँछ यस सालको प्रेमोत्सव धमाका हुँदैछ। उपहार पसल देखी क्याफे र रेस्टुरेन्टमा राता गुलाबहरु युवा दिलका हाल बयान गरिरहेका छन्। मोबाइलका किप्याड प्रेमवाणी टाइप गर्नमै व्यस्त छन्। कसले बढि भावपूर्ण सन्देश पठाउने मिडियामा प्रतिस्पर्धा चलेको छ। ठूलो गिफ्ट र ट्रिट सँग मायाको ठूलो संसारको परिकल्पना गरिरहेका छन् प्रेमी जोडा। रोमन इतिहासको पानाबाट आएको प्रेम र प्रणयको दिवसले सहरी युवालाई आँखा चार गर्ने बहाना दिएको छ। अर्को वर्षको फेब्रुअरी १४ को प्रतिक्षा १५ बाटै हुन थालेको छ। अनि १३ को रात चाहिँ बेचैनीको बन्ने गरेको छ।

शुक्रबारको साँझ भोलेबाबाको नाममा तानेको पपले भन्दा पनि मायालुका नयनले नशा लागेको छ। त्यसमाथि बिदा पनि परेको कलेज जान पनि नपर्ने भएपछि सबै मख्ख र दंग। कलेज बिदा भएपछि बंक गर्नु नपर्ने भो भ्यालेन्टाइन्स डेको योजना बनाइरहेका युवाका लागि। कलेजका प्रेमी युवा मध्येका एक सोहन श्रेष्ठका लागि मज्जै भो यसपालीको भ्यालेन्टाइन्स डे, प्रेमिका र पढाइ दुवै खुसी उनले रोमान्चित भावमा भने। जोरपाटीको एक कलेजमा अध्ययन अध्ययन गर्ने उनको योजना ठूलो छैन। ‘विश्वास दिलाउने हो उनलाई म सँगै छु भनेर प्रेम दिवस भनेर विश्वले मनाएको दिनमा म किन छुट्ने’ सोहन छुट्न चाहँदैनन् मायाको कुम्भेमा प्रेयसीलाई भरोषा दिलाउन।


भौतिक समृद्धीले अभौतिक प्रेमलाई पनि भौतिकताको कसिमा हेर्ने बनाएको छ। त्यस सागै गिफ्ट र कार्डका भाकामा व्यक्त हुन थालेका छन् भावना। हलमार्क, आर्चिजका कार्डमा कुँदिएका भावना सापटी लिएर प्रेयसी साग मायाको कुम्भे मनाइरहेका छन् नेपाली युवा। न्यूओर्क र न्यूरोडको जिवन शैलीमा फरक भएपनि मायालाई लिने शैली मिल्न थालेको छ। उही शैलीमा भौतिक उपहारमा साटिरहेका छन् युवा प्रेम। न्यूरोडमा भ्यालेन्टाइन सपिङमा निस्केका हृवाइट हाउस कलेजका प्लसटु युवक अमोल अर्थतन्त्र मिलाएर मायाको शासनलाई अर्को वर्ष सम्म टिकाउने योजनामा छन्। वर्षमा एक दिन माया गर्नेका लागि छुट्याएको छ अंग्रेजी क्यालेण्डरले त्यसलाई सफल पार्नुपर्छ माया गर्नेहरुले भन्छन् उनी।

माया आत्माले अनुभूत गरिनुपर्ने हो तर त्यसलाई व्यक्त गर्ने र बुझ्ने काम चाहिँ भौतिक सामग्रीको माध्यमबाट भएको छ। लोकमा देखिओस् भनेर होला सायद यसको प्रयोग गरिएको भन्छिन् सानोठिमी क्याम्पसकी कल्पना भण्डारी। धेरै युवाले लोकाचारका लागि औपचारिकता या प्रेमि प्रेमिकाको मन राख्न भनेपनि भ्यालेन्टाइन्स डेमा गिफ्ट थमाइहाल्छन्। थमाउने र थाम्नेको साख्या अगणित बन्न पुगेको छ त्यसैले सहरका गिफ्ट सप खचाखच छन्। दरबारमार्ग अनि न्यूरोड मात्र होइन सेलवेज र भाटभटेनीमा पनि गिफ्टको खरिद उस्तै छ। आर्चिजको दरबारमार्गको ग्यालरीकी रोशनी थापालाई कार्ड र गिफ्टको हिसाब गर्नमा फुर्सद छैन।

प्रेम दिवस बनेको रोमन इतिहासको एक कालखण्डका प्रेमका सारथी सेन्ट भ्यालेन्टाइनको सम्झनाको दिवस प्रेमपासोमा बिताउन तयार छन् युवा। अनि मिलाइरहेका छ मायाको बोली र लोली आफ्नै स्टाइलमा। गुगलको खोज देखाउँछ मायाको एक अर्ब ३५ करोड नतिजा। हजारौं पेजले दिएकाछन् मायाको परिभाषा। तर पनि केही अपुरो अपुरो जस्तो लाग्छ। ‘मायालाई त परिभाषामा बाँध्नै सकिँदैन’ अँग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै गरेकी सुमित्रा घिमिरे भन्छिन्। माया प्रेमलाई जुन फ्रेमबाट हेरिन्छ त्यही अनुसारको अनुभूति हुन्छ। अहिलेको युवा जमात अलि भौतिक नजरले हेर्छ त्यसैले गिफ्टमा साट्छ माया र त्यसैमा अनुभव गर्छ।


समयसागै परिवर्तन भएको छ माया र यसलाई व्यक्त गर्ने तरिका इतिहासको एक घडीमा शारजहाँले मुमताजको मायामा ताजमहल बनाए। त्यही ताजमहलमा मायालुको अनुहार अनुभूत गरेर जीवन बिताउने अनेकौं शारजहाँ अहिले खडा छन्। समयले मायामा मोह भरिदिएको छ, त्यसैले प्राप्तिमात्र खोज्छन् अहिलेका प्रेमीप्रेमीका। तर प्राप्ति मात्र होइन आफूले मन पराएको मानिसको सुख, खुसीसाग आफूले पनि त्यसलाई महशुस गर्नु हो प्रेम भन्छिन् सुमित्रा। त्यही अनुभूतिको साझेदारीको पर्व हो भ्यालेन्टाइन्स डे। प्रेमको महाकुम्भ मेला जहाँ एक अर्कालाई साधै हासी खुसी देख्न चाहनेहरु आत्मिक र भौतिक निकटताको अनूभूति लिन्छन्।

अब यो युग र युवा मुना मदनको बेलाको जस्तो छैन। भोट जाने परम्परा यूरोपमा सरे पनि मदनहरु मुना भन्दा धेरै टाढा छैनन्। आफ्नो मनको राजकुमार विश्वको राजधानी अमेरिकामा भएपनि उत्तिकै निकट महशुस हुन्छ समिक्षा शर्मालाई। ‘फेसबुकमा म उहाँका भावना सम्हेल्छु अनि दिनभर च्याटमा बस्छौं भ्यालेन्टाइन्स डेको मायालु पल साट्न।’ त्यसका लागि समय फिक्स भइसकेको छ उनको। सँधै संगै भइन्छ र हुनुपर्छ भन्ने छैन महशुस गरे भइगो नि उनी उनको मायाको गहिराइ बताउँछिन्।

मायाले फिजिक्सलाई चिन्दैन रे। मायाको केमेष्ट्री मनमा जम्छ अनि व्यवहारमा देखिन्छ भनिन्छ। त्यही मायालाई व्यवहारमा देखाउने परम्परा हो भ्यालेन्टाइन्स डे। जसलाई ग्लोबल नेपाली पुस्ता फलो गरिरहेको छ। पश्चिमा समाजको सांस्कृतिक विस्तारको रुपमा आएको भ्यालेन्टाइन्स डे सहरी युवा वर्गलाई स्वतन्त्र रुपमा प्रेम दर्शाउने माध्यम भएको छ। त्यसको पूर्ण उपयोग गरिरहेका छन् नेपाली युवा। समाजशास्त्री टिका कैनी माया सबै रिलेसनको फाउण्डेसन हो भन्छन्।

रिलेशनको त्यो फाउण्डेसन फाइण्ड गर्न नसकेका लागि चाहिँ के हो त भ्यालेन्टाइन्स डे ? के प्रपोज गर्ने उत्सव ? होइन माया न खोजी हो न प्राप्ति न मेडल सफलताको। माया मनमा उत्पन्न हुने आनन्दको अनुभूति हो। अर्कोलाई खुसी देख्ने भावना खुसी बनाउँ भन्ने भावना। नारी र पुरुषको मिलनको प्राकृतिक निरन्तरता रोक्ने आदेश विरुद्ध लागेका अरुको प्रेमका प्रेमी सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सम्झनाको दिन १४ फेब्रुअरी।


नेपाली समाज मायालाई भौतिक रोमान्सको दृष्टिमा हेर्दैन। विवाहको सात फेरा मात्र पनि होइन माया। आत्मिय भावना हो माया भन्छन् टिका कैनी। मुनामदन, नलदमयन्तीको आत्मिक मायाको गाथा बोकेको नेपाली समाजको आदर्श माया भौतिक भन्दा पनि आत्मिक मिलन हो माया कैनीको बुझाइमा। त्यही आत्मिक मिलनको सामाजिक मर्यादा हो विवाह। त्यसैले त विवाहको सात फेरामा सात जुनी सम्म एकले अर्कालाई आफ्नै हैसियत दिने बाचा गर्छन् जग्गे घुम्नेहरु।

अभौतिक मायालाई भौतिक रुपमा जिउनेहरु मायालु विनाको जीवन कल्पना गर्न सक्दैनन्। त्यसैले भन्छन् छोडी गए पाप लाग्ला। सायद मायाको अन्तर कुन्तरमा लुकेको मोहबाट देश र सेनालाई जोगाउन होला रोमन सम्राट क्लाउडियसले सैनिकलाई महिला सागको सम्बन्धबाट विमुख गर्ने घोषणा गरेका।

पूर्व होस् या पश्चिम प्रेमले न दर्शन मान्छ न भूगोल। त्यसैले होला प्रेम गर्नेको भावना पनि मिल्छ सात समुन्द्र पारी र वारीको। प्रेम पासोमा परेका नेपाली प्रेमीहरुको भावना पनि पश्चिमा प्रेम आइकन रोमियो जुलियट भन्दा फरक होओइन। माया मोहको मोहपासमा परेका नेपाली युवा पनि सोच्छन्, विलियम सेक्सपियरले रोमियो जुलियटमा पोखे जस्तै भावना :

हृवेन दाइ आइज टच्ड माइन
फर द भेरी फर्स्ट टाइम
आइ नो इट उल्ड बि फरेभर
द्याट वी वेयर मिन्ट टु स्टे टुगेदर


उस्तै खालका पोस्ट

Leave a Reply