कुनै समय ईस्वीसंवत २००७ अनि २००८ तिर एक खालको उत्साह थियो ब्लग लेख्ने। त्यही छेकोमा फोटोग्राफीको पनि खुबै पारो चढेको थियो। हुन त उमेर पनि त्यस्तै भएर होला जोश अनि जाँगर टन्नै। भरखर भरखर आफ्नै डिएसएलआर हात परेको। पशुपतिनाथ देखी त्रिभूवन विमानस्थल पछाडीको भाग सम्म क्यामेरा ठड्याउँदै हिंडियो। रत्नराज्यलक्ष्मी क्याम्पस पढ्थ्यौं हामी, लक्ष्मीप्रसाद र म। अनामनगर घट्टेकुलो बस्ने भएकाले क्याम्पस पछीको समय घट्टेकुलोको वरपरी एक घण्टा जति सम्मको पैदलले भेट्ने सबैतिर क्यामेरा तेसार्दै हिंडियो। त्यो एउटा जुनुन थियो।
हुन चाहिँ आईए पछी नै मैले फोटोग्राफीको तालिम लिएको थिएँ। श्यामश्वेत अनि रंगिन फोटोग्राफीको। पुतलीसडकमा हरी श्रेष्ठको फोटो स्टुडियो थियो। उनले चाहिँ फोटोग्राफीसँगै फोटोपत्रकारिता पनि भनेर भनेकाले मैले १० हजार हुनपर्छ, त्यति तिरेर फोटोग्राफी सिकें। श्यामश्वेत चाहिँ उनले बागबजारमा अर्कै स्टुडियोमा सिकाउने प्रबन्ध गरेका थिए। यतिखेर नाम विर्षें जसले फोटोको रिल धुलाउन र फोटो प्रिन्ट गर्न सिकाए उनी फोटोपत्रकार नै थिए। फोटोपत्रकारिता प्राविधिक विषय पनि भएकाले यसमा लाग्ने भन्ने थियो। त्यसैले पुरानको प्रविधी (एनालग)को फोटोग्राफी सिकियो। सैद्धान्तिक रूपले त खास फोटोग्राफीमा फरक केही भएको हैन तर डिजिटल प्रविधीले धेरै सजिलो र छिटो बनायो फोटोग्राफीलाई।
ठ्याक्कै पुरानो र नयाँ प्रविधीको बीचको ट्रान्जिसन परेकाले केही समय लगाएर क्यामेरा किनिएको थियो। त्यतिबेलाको एकलाख रूपैंया हाराहारी परेको थियो। त्यसको भरपुर प्रयोग पनि गरियो अझै पनि काम गर्ने हालतमा छ। त्यही जुनुनको साथ काठमाण्डौंका करिब २० वटा कलेजमा त फोटोपत्रकारिताको तालिम पनि गरियो। लक्ष्मीसँग मिलेर। लालजोडी भने जस्तो थियौं है त्यो बेला।
त्यसको सँगै ब्लग लेख्ने, फोटो खिचेर त्यसलाई केन्द्रमा राखेर लेखोट अनि टाँसो पनि भनेर भनिन्थ्यो लेखियो। 'कटुवाल' भनेर यो डोमेन पनि त्यति खेर नै लिएको हो। नेपाली सन्दर्भमा रैथाने अनि हाम्रो गाउँ घरको वैकल्पिक संचार र सूचनाको माध्यम जुन प्रथा र परम्परा बनेर रहेको छ त्यसलाई नै अनलाईनमा वैकल्पिक विचार राख्ने माध्यम बनाउन भनेर नाम जुराईएको थियो। यो सँगै फोटोपत्रकारिताको लगावलाई लिएर 'फोटोपत्रकारिता' नै डोमेन पनि लिईएको थियो। फेरी स्नातकोत्तर तहको 'थेसिस' पनि नेपालको फोटोपत्रकारितामै भएकाले डोमेन उपयुक्त लागेको थियो।
क्याम्पसे उमेरका जोशलाई सही तरिकाले मेन्टरिंग र फण्डिङसँगै फोकस नहुने हो भने रल्लिने खतरा हुने रहेछ। मेरो लगाब पनि रल्लिन थाल्यो। कलेज पढाउने अनि दैनिक पत्रिकामा काम गर्न थालेपछी, धेरै समय र निरन्तरता दिन अल्छी भएको हो कि, जसो गरे पनि आफ्नो आवश्यकता पुरा नभएकाले हो ब्लग लेखन पछी पर्दैगयो। उमेश श्रेष्ठ (उही माईसंसारवाला)ले चाहिँ निरन्तर नै राखिरहेको छ, अनिल (आकारपोष्ट) पनि लामो समय निरन्तर नै थियो आजकल त्यति अपडेट भएजस्तो लाग्दैन। भरखर भरखर नयाँ प्रविधी र अनि उमेरले पनि भूमिका खेलेको होला।
धेरैको ब्लग चाहिँ होस्टिङमा अध्यावधिक छ मैले चाहिँ डिजाईनमा चल्ने र पटक पटक होस्टिङ परिवर्तन गर्ने गर्दा निरन्तरतामा क्रमभंग भयो। अहिले फेरी लेख्न खोज्दैछु। यसले निश्चित समयमा आफ्नो सोचाई कस्तो रहेछ भनेर आफैलाई पनि जानकारी दिन्छ अनि बुढेसकालमा सायद अष्ट्रेलियाको कुनै कुनामा एज्ड केयर वा आफ्नै घरको कुनामा बसेर पढ्ने र विगतका कुरा सम्झेर दिन बिताउने माध्यम हुनेछ भनेर फेरी एकपटक ब्लग लेख्न चाहिँ सुरू गरें।

Post a Comment