हिसाब गर्ने हो भने नेपालमा फेसबुक चलाउने सुरूका सयजनामा पर्न कत्ति पनि बेर छैन म 😆 ईन्टरनेट चलाउन पोखरा पुगियो र हटमेल, याहुमा ईमेल बनाईयो, एसएलसी सकेपछी। याहुका च्याटरूममा 'एएसएल' सोध्न पर्छ भन्ने पनि जेनतेन जानियाथ्यो। कत्तिन विदेशीसँग च्याटैबाट लभपर्ला जस्तो गरेर 😂😂😂
सुरू सुरूमा आफ्नो ब्लग धेरैलाई पढाउन पछी पत्रिकामा काम गर्दा आफ्नो लेखाईको प्रबर्धन अनि आफूले समेट्ने विषय अनि व्यक्ति सम्म पहुँच बढाउनको लागी पनि फेसबुक खुब काम लाग्यो। अनि आफ्ना पुराना सम्झना र फोटोहरू राख्न चाहिँ काईदै हो। तर समयक्रममा फेसबुक जस्ता सामाजिक संजाललाई धेरै समय दिईएछ। अहिले त टिकटोक पनि आईसक्यो स्क्रोल गरेर कहिल्यै नसकिने। सामाजिक संजाल नै दैनिकीका जंजाल बनिसके।
२०१४ मा अष्ट्रेलिया हान्निन खप्परमा लेखेपछी, काम खोज्ने र यता जान पहिचान बढाउने साथै ब्लग र वेबसाईटमा ईंगेजमेन्ट बढाउन सामाजिक संजाल चलाईयो। यसो विचार गर्दा नेपाली समुदायमा नेपालबाट भरखर आउनेहरूलाई काम कोठाका सूचना लिन दिनका लागी फेसबुक ग्रुप चाहिँ कारगर नै साबित हुन्छ भनेर दुईचारवटा ग्रुप सुरू गरेको सबैमा यसरी सदस्य जोडिने क्रम बढ्यो कि त्यसका पोस्ट मोडरेट गर्न नि रमाईलै लाग्न थाल्यो। अनि वेबसाईटका पोस्ट सेयर गर्ने र लेखेको पढाउने माध्यम बन्यो। सायद हजारौंले अहिलेसम्म काम र कोठा पाउनका लागी मैले सुरु गरेका ग्रुपले सहयोग गरे। मेरो पनि लाखौं घण्टा त्यसमा व्यतित भए होलान् 😊 विद्यार्थी हुँदा त ठिकै हो काम गर्ने भएपछी चाहिँ पोस्ट मोडरेट गर्ने काम घाटाको जस्तै लाग्ने तर एकखालको कर्तव्य नै बनेको जस्तो लाग्दा लाग्दा विभिन्न ग्रुपका एडमिन बनेको १२ वर्ष बितिसकेको रहेछ।
दिनका सयौं पोस्ट पढ्न पनि नसकिने त्यसै पोस्ट हुन दिँदा पनि फेसबुकले झमेला गर्ने। त्यसमाथि आफ्नो व्यवसायको प्रबर्द्धन गर्न दिएन भनेर धम्क्याउनेको त कुरै नगरौं। रातीको १०, ११ बजे मेसेज गरेर धम्कि दिने पनि देखिए। स्क्रिनशट चाहिँ अझै सुरक्षित छ 😜
कसैले जस नदिने कस्तो काममा हात हालिएछ जस्तो लाग्ने कहिले काहिँ। हिसाब गरेको दिनको तीन घण्टा जति त कम्तिमा यसमा जाने रहेछ। काम र जागिर पछीको परिवारलाई दिने समय भकाभक यता गईरहेको छ। न त यो समाजसेवामा गनिने न आयआर्जनको माध्यम नै।
लौ है यसरी पोस्ट गरौं न भन्दा पनि कसैले नमान्ने 😊 सजिलो चाहिँ छैन है। ग्रुप डिलिट वा पज गर्न पनि मन छैन तर समय चाहिँ उत्पादक बनाउन पर्ने अवस्था छ। त्यसमाथि मोर्टगेजको दबाब नि बढ्दो। नेपालीपेजले केही आर्थिक आमदानी गरेको खण्डमा चाहिँ व्यवस्थित बनाउन सकिएला।

Post a Comment